काठमाडौं, १४ भदौ ।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाली खेलकुदलाई नीति र विधिमार्फत सुधार गर्ने जनाएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताए ।
उनले भने, अब नेपाली खेलकुदमा सुधारको कार्य गर्छु ताकि तपाइँमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना आओस् ।
आगामी भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने १० खेलाडीसहितको टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीमा पाँच पुरुष तथा पाँच महिला छन् ।
पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् ।
त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २ गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको १६ जनाको टोली पनि भोली नै त्यसतर्फ जाँदैछ ।
जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नेछन् । छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नेछन् ।