काठमान्डौ भदौ १३ ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
लिगको गएराति भएको खेलमा सिटिले वेष्ट ह्यामलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा फरनान डिन्होले एक गोल गरेका थिए। खेलको सातौं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए।
१८ औं मिनेटमा फरनान डिन्होले गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता लियो। ५८ औं मिनेटमा वेष्ट ह्यामका मिकेल एन्टोनियोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। तर, इन्जुरी समयमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ को स्पष्ट जित दिलाए।
यसअघि सिटीले लिगको पहिलो खेलमा सन्डरल्याण्डलाई २–१ तथा दोस्रो खेलमा स्टोक सिटीलाई ४–१ ले हराएको थियो।
लगातार तीन खेल जितका म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेड अंक तालिकाको शीर्ष तीन स्थानमा छन्।
यस्तै, प्रिमियर लिगको अर्को खेलमा वेष्ट ब्रोमले गोलरहित बराबरीमा मिड्ल्सब्रोगलाई रोकेको छ। मिड्ल्सब्रोग हाल ५ अंकका साथ छैटौं स्थानमा छ। ब्रोम भने ३ अंकका साथ १२ औं स्थानमा रहेको छ।