अछाम ३२ साउन ।
एक गैरसरकारी सस्थाले बर्षभरी चल्ने कार्यक्रममा चिया, खाजामा कति खर्च गर्छ होला ? दुई लाख चार लाख वा पाँच लाख । तपाईले यही अनुमान लगाउनु भयो भने तपाई लगत हुनुहुनेछ । अछाम जिल्लामा सीप विकास तथा जनचेतना तालीम र गोष्ठीमा भएको चिया खाजाका नाममा मात्रै ४ करोड भन्दा बढी रकम खर्च भएको पाइएको छ ।
जिल्लाका रहेका २९ वटा सरकारी तथा गैरसरकारी संस्थाहरुको एक आर्थीक बर्षमा चिया, खाजा र भत्ता बमोजिम ४ करोड खर्च गरेको तथ्याङ्कले देखाएको छ । एक सस्था बराबर झण्डै १४ लाख अथवा १३ लाख ९७ हजार चिया, खाजा र भत्तामा मात्रै खर्च भएको छ । चिया खाजामा खर्च गर्नेमा सरकारी निकाय पनि अग्रपंक्तिमा नै रहेका छन् ।
कुनै संस्थाले बजेटको आधा रकम गोष्ठिका नाममा हुने चिया, खाजा र भत्ताका नाममा खर्च गरेका छन् । जिल्ला विकास समिति आफैले तालीमका नाममा सबैभन्दा धेरै डेढ करोड भन्दा बढी बजेट खर्चेको छ । त्यसपछि क्रमश ः महिला तथा वालवालीका कार्यालयले ७९ लाख ६८ हजार र जिल्ला स्वास्थ्य कार्यालयले ७२ लाख ८६ हजार ५५ रुपैयाँ खर्च गरेका छन ।
भएको बजेट सक्न र गोष्ठिका नाममा खर्च गरेको देखाएर अनियमितता गर्न पनि बजेट सकेको स्रोतको दावी छ । बजेट बनाउनु अघि स्वीकृत गर्ने र बजेट कार्यान्वयनको अनुगमन गर्ने निकाय नहुँदा मनपरी खर्च भइरहेको जिविसका वरिष्ठ सूचना अधिकृत पदम बहादुर माझीले वताउनुभयो । मागमा आधारीत नभएरै मनपरी ढंगले दिइने कतिपय तालीमहरुको उपलब्धी भने शुन्य अवस्थामा छ ।
सरकारी कार्यालय मार्फत खर्च गरिने अन्तराष्ट्रि निकायको बजेट सबैभन्दा बढी अपारदर्शी बन्न थालेको जिविस स्रोतको दाबी छ । फजुल र अनुत्पादक खर्चले वर्षेनी जिल्लाको विकासलाई बाधा पारेको सूचना अधिकृत माझीको भनाई छ । आर्थीक वर्ष २०७२÷७३ मा सम्पन्न विभीन्न शिर्षकका गरी २ हजार २० वटा तालीम भएको देखिएको छ । २ हजार तालिमका लागि १७ सय २५ दिन खर्च गरिएको पाइएको छ । ‘तालिम त हजारौ भएको छन् ’ सूचना अधिकृत माझिले भन्नुभयो, ‘तर तालिममा सिकाएको सीप र क्षमताले कसले के प्रगति गर्यो सुन्न चै पाइएको छैन । ’
तथ्यांक अनुसार जिल्लाको कुल बजेटको एक चौथाइ रकम अनुत्पादक क्षेत्रमै खर्च भइरहेको छ । जसले गर्दा फजुल खर्च धान्नै मुस्कील हुन थालेको छ । तालिममा डुप्लिकेसन हुँदा समेत जिल्ला विकास समिति मार्फत त्यसको अनुगमन भएको देखिदैन । रकम सक्नकै लागि भएपनि एउटै प्रकारको तालिम दर्जनौ संस्थाहरुले दिने गरेको देखिन्छ । तालीम, गोष्ठीका सबैजसो बिलहरु फर्जी रुपमा बनाउने गरेको नेकपा माओवादीका जिल्ला सचिव शेरबहादुर विश्वकर्माको आरोप छ ।
तालिम पाइयो–सीप छैन
जिल्लामा कुनै त्यस्तो व्यक्ति छैन् जसले तालीम लिएको नहोस् । तर, तालिम लिएकाहरुले सिकेको सीप अनुसार ब्यबहारमा लागु गरेको पाइदैन । गत आर्थीक वर्षमा जिल्लामा सम्पन्न २ हजार २० वटा तालीम मार्फत १० हजार ९ सय ७७ महिला र ५ हजार ९ सय २१ पुरुष गरी जम्मा १६ हजार ८ सय ९८ जनाले विभिन्न सीप र क्षमता विकासे तालिम लिएका छन् । तर, १६ हजार मध्ये १६ जनाले पनि तालि लिएपछि प्रगति गरेको रेकर्ड कतै दर्ता भएको छैन । करोडौको खर्चले क्षमता अभिवृृद्धि, सेवा प्रवाह र जनचेतना वृृद्धिमा कति प्रगति भयो भन्ने चांहि अनुत्तरित छ ।