काठमाडौ २९ साउन ।
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्यिनसीप अन्तरगत नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले कम्तीमा शिर्ष चारभित्र पर्ने लक्ष्यसहित घरेलु टोलीसँग दुई ओटा खेल खेल्नेछ ।
पहिलो खेल नेपाली समय अनुसार अपरान्न पौने तीन बजेपछि सुरु हुनेछ । यसअघि एकदिवसीयमा नेपाल र नेदरल्याण्ड दुई पटक आमने सामने भइसकेका छन् ।
सन् २०१४ मा न्युजल्याण्डमा भएको विश्वकप छनोट खेलमा नेदरल्याण्ड सात विकेटले विजयी भएको थियो भने एकवर्षपछि भएको आइसिसी डिभिजन २ मा नेपालले २ विकेटको जीत निकाल्न सफल भएको थियो ।
आठ टोली सहभागी विश्व क्रिकेट लिगमा नेपाल अहिले छैटौं स्थानमा छ भने घरेलु टोली नेदरल्याण्डस शीर्ष स्थानमा छ । नेदरल्याण्डले ६ मध्ये ४ खेलमा जीत निकालेको थियो भने २ खेल नतिजाबिहिन बनेको थियो ।
नेपालले ६ मध्ये २ खेलमा मात्र जीत निकाल्न सकेको छ । चार महिना अघि किर्तिपूरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई पराजित गरेको थियो । त्यसअघि नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।