काठमाण्डौ ,२९ साउन ।
रियो ओलम्पिकको १५ सय मिटर दौडमा सहभागीता जनाएकी नेपालकी सरस्वती भट्टराई पहिलो चरणबाटै बाहिरिएकी छन् ।
हिट चरणबाटै बाहिरिए पनि सरस्वतीले राष्ट्रिय कीर्तिमान भने बनाउन सफल भएकी छन् । आज बिहान भएको १५ सय मिटर मध्यम दूरीको दौडमा उनले निधारित दूरी चार मिनेट ३३ दशमलव ९४ सेकेण्डमा पूरा गरिन् ।
४१ जना खेलाडी रहेको स्पर्धामा सरस्वती ३७ औं स्थानमा रहिन् । हिट १ मा रहेकी सरस्वती सो समूहमा भने १३ औं स्थानमा रहिन् ।
ओलम्पिकबाट बाहिरिएपनि सरस्वतीले सरस्वतीले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै चार मिनेट ३३ दशमलव ९४ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
उनले राजकुमारी पाण्डेको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
ओलम्पिकमा अब नेपालबाट एथ्लेटिक्सकै हरिप्रसाद रिमालले ५ हजार मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै ओलम्पिकमा तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
भदौ ४ गते प्रतिस्पर्धा गर्ने निशाले आफूले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाएकी छन् ।