काठमाडौं, साउन २५।
दक्षिण एसियाली सामुदायिक रेडियोहरुको सम्मेलन आज देखि राजधानीमा सुरु हुदै छ ।
दक्षिण एसियाका सामुदायिक रेडियोले दिगो विकासका लागि समुदायको साझेदारका रूपमा खेलेको भूमिका र सिकाइ आदानप्रदान गर्ने उद्देश्यका साथ सो सम्मेलन हुन लागेको हो ।
‘दिगो विकासका लागि सामुदायिक रेडियो’ भन्ने मूल नाराका साथ सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले सम्मेलनको आयोजना गरेको हो ।
दुइ दिन सम्म चल्ने सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, श्रीलंका भुटान लगायतका देशबाट करिब एक सयजना सामुदायिक रेडियोकर्मी तथा विज्ञहरुको सहभागिता रहने जनाइएको छ ।
नेपाल र विश्वका विभिन्न क्षेत्रबाट विशेषज्ञको समेत सहभागिता रहेको सम्मेलनमा विपद र अप्ठ्यारामा सामुदायिक रेडियो, विकासमा सामुदायिक रेडियोको भूमिका लगायत आधा दर्जनभन्दा बढी समुदाय र विकासका विषयमा विशेष छलफल हुने अकोराबले जनाएको छ ।
सम्मेलनले दक्षिण एसियाका रेडियोकर्मीका लागि साझा अवधारणा, रणनीति र प्रतिबद्धता सहितको काठमाडौं घोषणापत्र समेत जारी गर्नेछ ।