काठमाण्डौ ,२४ साउन ।
फिस्टेल एअरको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएका सातै जनाको शव काठमाण्डौ ल्याईएको छ ।
काठमाडौंबाट हेलिकोप्टर लिएर गएको उद्धार टोलीले भीरपाखामा छरिएका शव संकलन गरी काठमाडौं ल्याएको हो ।
शवहरु पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने पोस्टमार्टनपछि आफन्तलाई बुझाउने बताइएको छ ।
गोरखाबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एअरको हेलिकोप्टर सोमबार दिउँसो नुवाकोटमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो ।
गोर्खाको सिर्दिवास गाविस–८ फिलिमबाट सुत्केरी महिला लिएर आउँदै गरेको ‘९ एनएकेए’ कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–८ स्थित बेतिनीको डाँडोमा ठोक्किएर दुर्घटना भएको हो ।
गोरखाबाट सोमबार दिउँसो १२ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क्विहीन भएको फिस्टेल एअरले जनाएको छ ।
दुर्घटनामा परी हेलिकोप्टरका चालक २५ वर्षीय रन्जन लिम्बु, १९ वर्षीया सुत्केरी प्रीति गुरुङ, उनको पाँच दिनको शिशु, ससुरा ६० वर्षीय किर्तमान गुरुङ, सासु ५६ वर्षीय सुपानी गुरुङको मृत्यु भएको हो ।
यस्तै, काठमाडौंबाट हेलिकोप्टर लिएर गोर्खा गएकी लक्ष्मी गुरुङ र गोर्खा्स्थित स्वास्थ्यचौकीमा कार्यरत् नर्स इटहरीकी निशा तामाङको पनि मृत्यु भएको छ ।
दुर्घटनाको खबर आएलगत्तै उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर र नुवाकोटबाट प्रहरी परिचालन गरिएको थियो ।
घटनास्थल राजधानी काठमाडौं र नुवाकोट सदरमुकाम बिदुरको मध्य भागमा रहेको छ ।