एजेन्सी ,२४ साउन ।
अमेरिकाका पौडी खेलाडी माइकल फेल्प्सले ओलम्पिकमा कीर्तिमानी १९ औं स्वर्ण पदक जितेका छन् ।
आज बिहान भएको पुरुष चार सय मिटर फ्रिस्टाइल रिलेको उपाधि फेल्प्स रहेको अमेरिकी टिमले जितेको छ । योसँगै उनी ओलम्पिकमा सबै भन्दा धेरै स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् ।
३१ वर्षका उनले ओलम्पिकमा अहिलेसम्म २३ वटा पदक जितेका छन् । उनले अमेरिकाका लागि दोस्रो लेगमा खेलेका थिए । त्यसमा उनले तीन मिनेट ९ दशमलव ९२ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जिते ।
दोस्रो भएको फ्रान्सले तीन मिनेट १० दशमलव ५३ सेकेण्ड तथा तेस्रो भएको अस्ट्रेलियाले तीन मिनेट ११ दशमलव ३७ सेकेण्डमा दूरी पूरा र्गयो ।
यस्तै अमेरिकाकै पौडी खेलाडी केटी लेडेकीले महिलाको चार सय मिटर फ्रिस्टाइल स्पर्धामा विश्व कीर्तिमान बनाएकी छन् । विश्व कीर्तिमान बनाउँदै रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् । उनले तीन मिनेट ५६ दशमलव ४६ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेकी हुन् । यसको प्रारम्भीक चरणमा उनले तीन मिनेट ५८ दशमलव ७१ सेकेण्डमा दूरी पूरा गरेर ओलम्पिकमा कीर्तिमान बनाएकी थिइन । केटीले आफ्नै नाममा रहेको विश्व कीर्तिमान स्वर्ण जित्ने क्रममा तोडेकी हुन् ।
यसअघि उनले तीन मिनेट ५८ दशमलव ३७ सेकेण्डको विश्व कीर्तिमान बनाएकी थिइन् । यो स्पर्धामा बेलायतकी ज्याज कारलिनले चार मिनेट एक दशमलव २३ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितिन् ।