काठमाण्डौ ,२२ साउन ।
रियो ओलम्पिक औपचारीक रुपमा सुरु भएको छ । ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालमा उद्घाटन समारोह भइरहेको छ ।
रियो ओलम्पिक अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उद्घाटन समारोह नेपाली समय आज बिहान सुरु भएको हो । दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
दक्षिण अमेरिकामा पहिलो पटक भएको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालमा ओलम्पिकका खेल हुनेछन् ।

यस ओलम्पिकमा भाग लिएको शरणार्थी टिममा १० खेलाडी छन् । जसमा दक्षिणी सुडानका पाँच, सिरियाका दुई, कंगोका दुई तथा इथियोपियाका एक खेलाडी छन् । यो टिमले ओलम्पिक झण्डा अन्तर्गत भाग लिनेछ । यो ओलम्पिकमा एक सय १२ वर्ष पछि गल्फको पुनरागमन भएको छ ।

पाँच सय ५४ जाना खेलाडीसहित भाग लिगएको अमेरिका सबै भन्दा ठूलो टिम हो । यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् ।
ओलम्पिक २०१६ को उद्घाटन समारोहमा विभिन्न देशका खेलाडीले राष्ट्रिय झण्डासहित परेड गरिरहेका छन् ।
दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी फुपूल्हामु खत्रीले नेपाली टोलीको नेतृत्व गर्दै ओलम्पिकमा नेपालको झण्डा उचालेकी छन् ।
फुपू नेपालको ठूलो झण्डासहित अघिअघि हिँडेकी थिइन् भने नेपाली टोलीका अरु उनको पछिपछि सानो आकारको झण्डा लिएर हिँडेका थिए ।