विमर्श उप्रेती, धुलाबारी । तत्कालिन प्रजातान्त्रिक आन्दोलनका योद्धा सदुवा किसानको परिवारलाई नेपाल तरुण दलले आज घरमै पुगेर राहत सामग्री प्रदान गरेको छ ।
“स्वतन्त्रता सेनानी भोक भोकै” शीर्षकको समाचार आजको कान्तिपुर दैनिकमा छापिएपछि मेचीनगर १ को सुब्बा वस्ती भनिने निन्दा खोलाको बगरमा रहेको उनको घरमा पुगेर खाद्यान्न सामग्री प्रदान गरिएको तरुण दलका एक नम्बर सभापति अर्जुन राईले बताउनुभयो ।
चामल,दाल,चना,चिनी,नुन,खानेतेल,च्यूरा लगायत ५ हजार रुपैयांको खाद्यान्न सामग्री लिएर योद्धा किसानको घर आंगनमा पुगेको तरुण दलको नेतृत्व गर्नुभएका राईले भन्नुभयो,“योद्धा सदुवाको खबरले दुखि तुल्यायो,त्यसैले अहिले प्रारम्भिक चरणको राहत लिएर आएका हौं ।”
योद्धा किसानको पारिवारिक अवस्था र स्वास्थ्य स्थिति बारे बुझ्न त्यहां गएको टोलीमा सहभागि उनका राजनीतिक सहयात्री एवं कांग्रेस वडा नम्बर २ का सभापति कृष्णप्रसाद खतिवडा(केपी)ले भन्नुभयो, “प्रजातन्त्र प्राप्तिको संघर्षमा उहांको योगदान अविष्मरणिय छ ।”
वि.स.२०२८÷०२९ सालतिर महामानव विश्वेश्वरप्रसाद कोइरालाको आह्वान तथा योद्धा भू–विक्रम नेम्बाङको नेतृत्वमा थालिएको प्रजातान्त्रिक आन्दोलनमा सदुवाले विशिष्ट योगदान पुर्याउनुभएको उनका सहयात्री खतिवडाले बताउनुभयो ।
योद्धा किसानको बारेमा राजधानीमा रहनुभएका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले खबर पढेपछि तरुण सभापति राईलाई टेलिफोनमा गर्नुभएको आग्रह अनुरुप उनको बसोबास र आजिवन औषधी उपचारको सम्पूर्ण जिम्मेवारी तरुण दल एक नम्बर क्षेत्रीय समितिले लिएको कांग्रेसका क्षेत्रीय सह सचिव रुपसागर अधिकारीले जानकारी दिनुभयो ।
योद्धा सदुवाको घरमा राहत सामग्री लिएर गएको टोलीमा कांग्रेसका क्षेत्रीय सचिव खड्ग धिमाल,नगर सह सचिव खगेन्द्र गिरी,सदस्य टिकाराम धमला,१२ नम्बर वडा सभापति कञ्चन बराल,वडा नम्बर १ का टोल संयोजक पदम लुईंटेल,तरुण दलका जिल्ला सदस्य प्रकाश चापागाई,मेची युथ फाउण्डेसनका अध्यक्ष निमा लामा लगायतको सहभागिता रहेको थियो ।