काठमाडौ २१ साउन ।
सरकारले सार्वजनिक यातायातको भाडा घटाएको भन्दै जाजरकोटका यातायात व्यवसायीले तीन दिनदेखि जिल्लामा यातायात सेवा ठप्प पारेका छन् ।
यातायात बन्दका कारण जाजरकोट सदरमुकाम खलंगा भित्रिने र बाहिरिने सवारी साधान चल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन् । जिल्लाका ग्रामिण भेग र डोल्पाबाट आएका यात्रुहरु सदरमुकाममै अलपत्र परेका छन् ।
यातायात ब्यवस्था विभागले छिन्चु जाजरकोट सडकको राकम खलंगा खण्डमा यातायात सञ्चालन गर्न अनुमति दिए सँगै एक साताअघि सरकारी भाडादर लागु गरेपछि यसअघि मनोमानी रुपमा भाडा उठाउँदै आएका ब्यवसायी विरोधमा उत्रेका हुन् ।
यसअघि यातायात ब्यवसायीले जाजरकोट देखि नेपालगञ्ज सम्म ९ सय देखि १२ सय रुपैयाँसम्म भाडा उठाउँदै आएका थिए । तर नयाँ भाडा दर कायम भएसँगै जाजरकोट देखि नेपालगञ्जसम्म चार सय ६५ रुपैयाँ कायम गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् ।
भेरी–गंगा यातायात ब्यवसायी संघका अध्यक्ष नवराज सिंहले भाडा समायोजनले ब्यवसायीलाई निकै मर्का परेकोले आफूहरु बाध्य भएर विरोधमा उत्रिएको बताउनुभयो ।