काठमाडौ १९ साउन ।
ब्राजिलको रियो दि जेनेरियामा हुने गृष्मकालिन ओलम्पिक अन्तर्गत फुटबलका खेलहरु आजबाट सुरु हुँदैछन् । पहिलो खेलमा आज फुटबलको महिला ईभेन्टतर्फ स्विडेन र दक्षिण अफ्रिका भिड्दैछन् ।
यस्तै पुरुषतर्फ भोली हुने खेलमा इराकले डेनमार्कको सामना गर्नेछ । ओलम्पिकको औपचारिक उद्घाटन भने आगामी शुक्रवार मात्र हुनेछ ।
कुल ५८ खेल हुनुपर्ने भएकाले खेल तालिका मिलाउन औपचारिक उद्घाटन भन्दा दुई दिन अगावै खेल सुरु हुन लागेका हुन् । रियो ओलम्पिकको फुटबलमा पुरुषतर्फ १६ टीम तथा महिलातर्फ १२ टीम सहभागि छन् ।
ओलम्पिक फुटबलको पुरुषतर्फ समुह ए मा ब्राजिल, दक्षिण अफ्रिका, इराक र डेनमार्क तथा समुह बी मा स्विडेन, कोलम्बिया, नाईजेरिया र जापान रहेका छन् ।
यस्तै समुह सी मा फीजी, दक्षिण कोरिया, मेक्सिको र जर्मनी तथा समुह डी मा होण्डुरस, अर्जेन्टिना, पोर्चुगल र अल्जेरिया रहेका छन् ।
यसैगरी महिलातर्फ समुह ए मा ब्राजिल, चीन, स्विडेन र दक्षिण अफ्रिका, समुह बी मा क्यानाडा, अष्ट्रेलिया, जिम्बाबे र जर्मनी तथा समुह सी मा अमेरिका, न्युजिल्याण्ड, फ्रान्स र कोलम्बिया रहेका छन् ।