काठमाण्डौ ,१८ साउन ।
नयाँ प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र उम्मेदवारी परेको छ ।
प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि आज विहान ११ बजेदेखि ४ बजेसम्मको समय सम्म प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गर्नुभएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेको दाहालको मनोनयनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा समर्थक हुनुहुन्छ ।
यस्तै संघीय गठबन्धनका तर्फबाट उपेन्द्र यादव, सवेन्द्रनाथ शुक्ल र लक्ष्मण लाल कर्ण समेत अध्यक्ष दाहालको समर्थक बस्नु भएको छ । संघीय गठबन्धन आबद्ध ३९ जना सांसद छन् । गठबन्धनले समेत समर्थन गरेपछि अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
एक्लो उम्मेदवार भएपनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री भने बन्नुहुने छैन । संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ ।
भोली विहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्री पदको निर्वाचन हुनेछ । प्रचण्डको उम्मेदवारी प्रस्तुत भएपछि पक्ष विपक्षमा मतदात हुनेछ ।
संसदमा हाल कायम ५ सय ९५ सदस्य संख्याको बहुमत अर्थात २ सय ९८ मत प्राप्त गर्ने ब्यक्ति भावी प्रधानमन्त्री बन्नेछ ।
उहाको विपक्षमा संसदको दोस्रो ठूलो दल एमालेसहित केही साना दल छन् । संसदको चौथो ठूलो दल राप्रपा नेपालले भने प्रचण्डलाई मत दिने नदिने भन्ने निर्णय गर्न बाँकी छ ।
अघिल्लो दिनसम्म अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको थियो । तर, आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
यस्तै बर्तमान सत्तागठबन्धनमा कायम रहेका साना दलहरुले भने एमाले उमेद्वारलाई समर्थन गर्ने भएका छन् ।