काठमाडौ १६ साउन ।
संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा सिफारिस गरिएका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सिंहदरबारस्थित समिति कार्यलयमा आज बिहान बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन् ।
यस्तै बैठकले वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि अनुमोदन गरेको समिति सदस्य अनिता परियारले जानकारी दिनुभयो ।
न्यायपरिषदले गत फागुन १८ गते नै सर्बोच्चका लागि न्यायाधिशको नाम सिफारिस गरेको भएपनि सुनुवाइ समिति गठनमा भएको ढिलाइ तथा पछिल्लो राजनितिक अवस्थाका कारण सुनुवाइको काम पछि सरेको थियो ।
संसदीय समितिले सिफारिस नाम अनुमोदन गरेसँगै सर्बोच्चमा प्रस्तावित न्यायाधिशको नियुक्तिका लागि बाटो खुलेको छ । न्याय परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।