काठमाडौं, साउन १४ ।
राजधानीमा जारी मैत्रीपूर्ण महिला भलिबल खेलमा नेपालले आज भारतीय टोली सँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यी दुइ टोली विच अपरान्ह १ बजे प्रतिस्पर्धा हुनेछ ।
हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल भारत सँग ३–० को सोझो सेटमा पराजित भएको छ । दक्षिण एसियाको शीर्ष टोली भारतले नेपाललाई २०–२५, १९–२५ र २५–२७ ले पराजित गरेको हो ।
विश्व भलिबलको वरीयतामा भारत ५७ औं स्थानमा रहेको छ । नेपाल भने हालसम्म वरीयताविहीन छ ।
दक्षिण एसियाली खेलकुद सागमा महिला भलिबलतर्फ तीनपटक सहभागिता जनाएको भारतले तीनैपटक स्वर्णपदक जितेको छ ।
आसन्न १३औं सागको अभ्यासका लागि भन्दै भारतविरुद्ध २ मैत्रीपूर्ण खेलको व्यवस्था गरिएको हो । बलियो टोलीसँग खेल्दा खेलाडीको कौशल र टोलीको प्रदर्शन सुधारिने विश्वास नेपाली टोलीले लिएको छ ।