१३ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनसंगै मधेशी जनजाती र थारु समुदायको माग सम्वोधन गर्नु प्रमुख चुनौति हुने बताउनुभएको छ ।
माओवादी निकट विद्यार्थी संगठनको एकता भेलालाई काठमाण्डौमा सम्वोधन गर्दै उहाँले संविधानका राम्रा पक्ष कार्यान्वयन र अपुग पक्षलाई पूरा गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले अप्ठेरो घडीमा राष्ट्रको नेतृत्व गर्ने जिम्मा माओवादीको काँधमा आएको भन्दै उतारचढावको पनि सामना गर्नुपर्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ दिशामा लैजानका लागि नयाँ घोषणापत्र आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा माओवादीका विद्यार्थी संगठनहरुको एकता घोषणा गरिएको छ । यसअघि गत जेठ ६ गते माओवादी घटकहरुबिच एकता भए पनि विद्यार्थी संगठनहरुको एकता भएको थिएन ।
एकता भेलाले नरेन्द्र न्यौपानेको संयोजकत्वमा ९ सय ९९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।