काठमाडौं, साउन १३ ।
काठमाडौंको दक्षिणकालीबाट फाखेल हुँदै हेटौंडा जाने सडकखण्ड तीन दिनदेखि अवरुद्ध बनेको छ ।
पानी रोकिएपनि हिलो भएकाले गाडी चलाउन समस्या भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिनु भयो ।
हेटौंडा पुग्न मुग्लिन–नारायणगढ सडकखण्डको विकल्पको रुपमा प्रयोग हुने छोटो सडकखण्ड अवरुद्ध हुँदा यात्रुलाई मारमा परेका छन् ।
दक्षिणकालीबाट सिस्नेरी हुँदै हेटौंडा जाने सडकखण्डमा भने गएराति देखि सवारी आवत जावत हुन थालेको छ ।
यस्तै अहिले सिन्धुपाल्चोकको बाह्रविसेसम्म र रसुवाको धुन्चेसम्म गाडी सञ्चालन भएको चापागाईंले बताउनुभयो ।
धुन्चेबाट उता भने पहिरो खसेपछि जान सक्ने अवस्था नभएको र पहिरो हटाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच तनहुँको घाँसीकुवा–५ लामिडाँडामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय आठ वर्षीय सन्देश भुजेल रहेका छन् ।
भुजेल गएराति लामीडाँडा कुवामा नुहाउने क्रममा कुवामाथिको ढिस्को खसेर घाइते भएका उनको उपचारको लागि दमौली अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।