कास्की, १२ साउन ।
सेती नदीमा आएको बाढीले पोखरा आउने खानेपानीको पाइप बगाउदा पानीको आपूर्ती ५० प्रतिशतले घटेको छ ।
अविरल बर्षाको कारण आएको बाढीले पोखरामा खानेपानी आपूर्ति हुने मुख्य मुहान मर्दीबाट ल्याएको २० इन्चको पाइप बगाएको हो ।
खानेपानी संस्थान पोखराका अनुसार मर्दी र सेति दोभानमा बनाइएको बेलिब्रिज मार्फत ल्याएको २० इन्चको ५० मिटर पाइप बगाएको हो । अर्को १६ इन्चको पाइप जोएको छ तर त्यो पनि उच्च जोखिममा नै रहेको खानेपानी संस्थान पोखराका प्रमुख निरज महर्जनले बताउनुभयो ।
पाइप बगाएपछि झण्डै १५ दिनलाई खानेपानीको आपूर्ति ५० प्रतिशत कम हुने महर्जनको भनाई छ । पानीको आपूर्ति कम हुने भएकाले खपत पनि कम गर्न उहाँले उपभोक्तालाई आग्रह गर्नुभएको छ ।
बाढीले खानेपानीको बाध भन्दा तल लगाइएका ग्यावियनहरु पनि बगाएको छ भने आसपासको जमिन समेत भत्काएको छ । बाढीले बगाएको पाइप मर्मतको काम सुरु भइसकेको जनाउँदै उहाँले पाइप बनाउन निर्माण कम्पनीलाई जिम्मा दिइसकेको बताउनुभयो ।
बाढीले पाइप बगाउदा कम्तीमा पनि डेढ करोडको क्षति भएको छ । मर्दी खोलामा १० वर्ष यताको सबैभन्दा ठूलो बाढी आएको छ ।