काठमाडौ ११ साउन ।
गुल्मीको दुई छुट्टा छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । गुल्मीको हस्तीचौर गाविसको माल्वीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो ।
पहिरोले स्थानीय भीम बहादुर दर्जीको घर बगाउदा ६२ वर्षिया दिदी कालिका दर्जी, ४९ वर्षिया श्रीमती तुलसी र १९ वर्षिया बुहारी अस्मितको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागी पुगेका १ जना छिमेकी समेत घाईते भएका छन् ।
यस्तै जिल्लाकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोपाल रानाका ९ वर्षिय छोरा सुजन राना र ७ वर्षिया छोरी सिमाना रहेका छन् ।
यसैबीच तीन दिनदेखि परेको अविरल वर्षाका कारण मकवानपुरको भीमफेदी गाविस ५ स्थित सोलाभन्ज्याङमा पहिरोले घर पुरिएर एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।
सोलाभन्ज्याङका मनमाया स्याङतानको घर पहिरोले पुर्दा उनको ज्वाइँ २७ वर्षीय टेकवहादुर रुम्वा, छोरी २५ वर्षीय पार्वती रुम्वा र ६ वर्षीय नाती विकास रुम्बाको मृत्यु भएको हो । मनमाया भने गोठमा बसेकाले उनलाई केही नभएको प्रहरीले जनाएको छ ।
उता पाल्पाको झुम्सामा पनि पहिरोमा परी आज बिहान एक बालिकाको मृत्यु भएको छ । दोभान–५ पानी मिलनिरको झुम्सामा माथिबाट खसेको पहिरोले ७ घर पुरिएको दोभान प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर तिलोत्तमा उच्च माविको कक्षा ९ मा अध्ययनरत अस्मिता बिकको मृत्यु भएको हो । घर भित्रै पुरिएको अवस्थामा अस्मिताको शव निकालेको प्रहरीले जनाएको छ । करिब बिहान पौने ५ बजेतिर पहिरो खसेपछि स्थानीय सुरक्षित स्थान खोज्दै भागेका थिए ।
यसैबीच, अबिरल बर्षासँगै गुल्मीको बडीघाट खोलामा आएको बाढीले गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न बस्तीमा कटान सुरु गरेपछि खोला आसपासका बासिन्दा बिस्थापित भएका छन् ।