काठमाडौं, साउन ११।
लगातार परेको वर्षाको कारण पहिरो खस्दा ठाउँ ठाउँमा सडकखण्ड अवरुद्ध भएका छन् ।मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले गाडीको आवतजावत बन्द भएको छ ।
कालिखोलामा पहिरो खसेकाले बाटो अवरुद्ध भएको हो । बिहान एकैछिन बाटो खुलेपनि लगातार पहिरो खसिरहेकाले बिहान साढे ६ बजेदेखि दुईतर्फी नै बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडकखण्ड अवरुद्ध भए सँगै गाडीको लामो लाइन भएको चितवन प्रहरीले जनाएको छ । डोजरले बाटोमा थुप्रिएको माटो हटाउन थालिए पनि पहिरो खसिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।
गाडीको ओहोरदोहोर धेरै हुने यो सडकखण्डमा वर्षा लागेसँगै दिनहुँजसो पहिरो खस्दा यात्रुहरुलाई प्रत्यक्ष प्रभाव परेको छ ।
यस्तै दक्षिणकालीबाट फाखेल र सिस्नेरीहुँदै हेटौंडा जाने सडकखण्ड पनि कारण अवरुद्ध भएको छ । सिस्नेरी नजिकै सडकमा बाढी आएकाले अवरुद्ध भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको जुरेमा, रसूवाको खोपाङभिर र राम्चेको मुलखर्कमा पनि पहिरो खसेपछि सवारी आवतजावतमा ठप्प भएको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको बाटो पनि अवरुद्ध भएको छ ।
सबैतिरको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।