काठमाडौं, साउन १० ।
नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न अन्तराष्ट्रिय क्रिकेट परिषदका प्रमुख सहितको टोली काठमाण्डौ आइपुगेको छ ।
पाँच सदस्यीय टोलीका तीन सदस्य आज नेपाल आइसकेका छन् । बाँकी दुई सदस्य भोली आउने कार्यक्रम छ ।
टोलीमा आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डशन, कानुनी अधिकारी पल म्याक्माहन, डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दला वार्नापुरा र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा रहेका छन् ।
नेपाली क्रिकेटमा सबै विवादित पक्षहरुसँग टोलीले छलफल गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछिको अवस्थाबारे अध्ययन गर्न आइसीसीको टोली नेपाल आएको हो ।
चारदिने नेपाल बसाइँका क्रममा आइसीसी टोलीले विवादित दुईओटा क्रिकेट संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारका प्रतिनिधि र सम्भव भएसम्म सरकार प्रमुखलाई भेट्ने तयारी गरेको छ ।