काठमाडौ १० साउन ।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएको बेथिति समाधानको माग गर्दै शिक्षण अस्पताल परिसरमा अनशनमा बस्नु भएका वरिष्ठ चिकित्सक डा. गोविन्द केशीले आज अनशन तोड्नु हुने भएको छ ।
सरकारी वार्ता टोली र केसीबीच हिजो सम्झौता भएपछि उहाँले आज मध्यान अनशन तोड्ने तयारी गर्नुभएको हो । केसीले उठाउनु भएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग लगाउने बहेकका अन्य माग सम्बोधनका लागि सरकार सहमत भएको छ ।
सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबिच चारबुँदे सहमति भएको छ । सहमतिअनुसार सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र अध्यनका लागि कम्तीमा ५० प्रतिशत सिट सङ्ख्यामा निःशुल्क गर्ने विषय विधेयकमा समावेश रहेको र त्यसलाई वृद्धि गर्दै ७५ जिल्लामा र्पुयाइने भएको छ ।
यस्तै, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज र्पुयाउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने सहमति भएको छ भने विगतमा भएको सम्झौता अनुरुप काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने सम्झौता भएको छ ।
यसैगरी मनमोहन शिक्षण अस्पतालका नाममा सञ्चालित हुनेगरी विज्ञ टोलीको मूल्याङ्कनका आधारमा कानुनसम्मत तरिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने र त्यो प्रयोजनका लागि आवश्यक रकम सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै डा केसी विगत १५ दिनदेखि आमरण अनशन बस्नुभएको थियो । सरकारले प्रा. डा. केसीसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो ।