काठमान्डौ ,६ साउन ।
पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा जारी रहेकाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
अविरल वर्षासँगै पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका २२ ढोका खोलिएका छन् । नदीमा पानीको बहाव हिजो साँझ देखि नै निरन्तर बढिरहेको छ ।
आज बिहान ७ बजे कोशी ब्यारेजमा एक लाख ६१ हजार ४२५ क्यूसेक पानीको बहाव मापन गरिएको थियो ।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार रातभर पहाडी क्षेत्रमा पानी परेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
उता, लगातार परेको वर्षाका कारण रसुवाको खोपाङ भिरमा पहिरो खसेपछि रसुवागढी सडकखण्ड अवरुद्ध भएको छ ।
गएराति परेको पानीले पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिनु भयो ।
अवरुद्ध बाटो खुलाउन डोजर पठाइएको उहाँले बताउनु भयो । अवरुद्ध सडकका कारण सवारी आवगमन प्रभावित हुदा यात्रुहरु मारमा परेका छन् ।
पहिरोका कारण सडकखण्डहरु दैनिक जसो अवरुद्ध हुने गरेका छन् ।