काठमाडौं, ५ साउन ।
बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा पनि जित निकालेको छ । क्रिकेटको उद्गमस्थल मानिने ऐतिहासिक लर्ड्स मैदानमा नेपालले विश्वकै पुरानो मेरीलीबोन क्रिकेट क्लव एमसीसीलाई ४१ रनले पराजित गरेको हो ।
नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको बेलायती टोली १ सय ७६ रनमै समेटियो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन जोड्यो ।
नेपालका लागि शरद भेषावकरले ५८ रन जोड्दा ज्ञानेन्द्र मल्लले ३९ तथा पारस खड्काले ३० रनको योगदान दिए । २ सय १८ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली एमसीसीले ४२ दशमलव २ ओभरमा मात्र १ सय ७६ रन बनाउदै अलआउट भयो ।
एमसीसीका लागि सुरुवाती व्याट्सम्यान जर्ज एडरले शतक प्रहार गरेपनि अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् । जीतसँगै नेपालले बेलायत भ्रमणका सबै ५ खेलमा जितको कीर्तिमानी बनाएको छ ।
नेदरल्यान्ड्सविरुद्ध यसै महिनाको अन्त्यमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग अभ्यास खेल खेलेको हो । नेपाली टोली भोली स्वदेश फर्किनेछन् ।