काठमाडौ ३ साउन ।
पर्वतको मोदीखोलामा आएको बाढीको कटानका कारण अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग आज बिहानबाट एकतर्फी रुपमा सुचारु भएको छ ।
डोजरको सहयतामा सुरक्षाकर्मीले गरेको रातभरिको प्रयासपछि बिहान ४ बजेबाट सडक एकतर्फीरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधिमा मोदीखोलाको कटानका कारण सडक भत्किएपछि हिजो साँझ ७ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध बनेको थियो ।
मोदी खोलाको उच्च बहाबले सडक कटान गरेपछि भित्ता तर्फको पहाड काटेर एकतर्फी रुपमा सडक सुचारु गरिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
सडक सुचारु भएसँगै बीच बटोमा रोकिएका सवारी साधन आ आफ्नो गन्तव्यतर्फ लागेका छन् । उक्त सडकबाट दैनिक एक हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् ।
लगातारको वर्षाका कारण जमिन कमजोर हुँदा पोखरा–बागलुङ सडक र मालढुङ्गा–बेनी सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पर्वतका ग्रामीण सडक पनि विगत एक महिनादेखि ठप्प बनेका छन् ।