काठमाण्डौं २ साउन ।
सर्लाहीमा ठूलो संख्यामा रहेका सुकुम्बासीहरुमाथि दमन गरिएको भन्दै विभिन्न चरणको आन्दोलन घोषणा गरेको विप्लव नेतृत्वको नकेपा माओवादीले आज उपत्यकामा चक्क जाम गरेको छ ।
बिहान ९ बजेदेखि ११ बजेसम्म उपत्यकाको सबै स्थानमा चक्का जामको कार्यक्रम रहेको नेकपा माओवादीले जनाएको छ । चक्का जाम कार्यक्रम सफल पार्न अहिले ठाउँ ठाउँमा नेताकार्यकर्ता सडक उत्रिएका छन् ।
सो क्रममा उपत्यकाका विभिन्न स्थानबाट एक दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । राधानीको कलंकीबाट क्रान्तीकारी ट्रेडयुनियन महासंघका अध्यक्ष योगेन्द्र कुमाल सहित ८ जना नेताकार्यकर्ता पक्राउ परेको जनाएको छ ।
यस्तै रत्नपार्कबाट अर्जुन कार्की, रत्न मगर, हिरा शाही, पूर्ण श्रेष्ठ, दुर्गा अधिकारी, गणेश बोहरा, प्रकाश बस्नेत, विजय भण्डारी, झनक श्रेष्ठ, बहादुर खड्का पक्राउ परेको हाम्रा सहकर्मीले जनाएका छन् ।
यसैगरी बालाजुबाट अनिल खड्का, राजमान तामाङ, सुर्य पौडेल, गोपाल परियार, केदार थापा, आकाश भेटवाल, रबिन गुरुङ लगायतका ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई पुतली सडकस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
सुकुम्वासी माथि अलोकतान्त्रिक तरीकाले हस्तक्षेप गरिएको भन्दै नेकपा माओवादी आन्दोलनमा उत्रिएका हुन् । घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आगामी साउन १० गते नेपाल बन्दको अह्वान गरेको छ ।
यस्तै भोली अन्तरक्रिया, ५ गते जनप्रदर्शन, मानव अधिकारकर्मीहरुको परिचालन लगायतका कार्यक्रम रहेका छन् । सुकुम्बासी माथिको दमन तत्काल नरोकिए कडा प्रतिवादमा उत्रिने सो पार्टीको चेतावनी छ ।