भक्तपुर, १ श्रावण।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा आजबाट ३८ दिने श्रावणी मेला २०७३ सुरु भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना कार्यान्वयनमा थप टेवा पु¥याउन तथा थप प्रचार प्रसार गर्ने उद्देश्यले आजबाट भाद्र ६ गतेसम्म बिभिन्न धार्मिक कार्यक्रम आयोजना सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन स्वामी श्री चतुर्भुजाचार्य चुडामणि महाराजले गर्नु भएको हो । श्रावणी मेलाको उद्घाटन गर्दै महाराजले विकास निर्माणको काममा सरकारको मुख ताक्नु नहुने बताउनु भएको छ ।
महाराजले मन्दिरको गुरुयोजना कार्यान्वयनमा सरकारको मुख ताकेर बसेको भए आज मन्दिर यो अवस्थामा नहुने भन्दै भक्तजनहरुको सहयोगमा नै गुरुयोजनाको कार्यान्वयन चाँडै पुरा हुने बताउनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले धर्म, संस्कृति र प्राकृतिक सम्पदाहरुको संरक्षणमा सबै लाग्नुमा जोड दिनु भयो ।
आजै चन्द्रविनायक गणेश मन्दिरबाट केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरसम्म कलश यात्रा गरिएको थियो । सिपाडोलका विभिन्न महिला समूहका महिलाहरुको सहभागीमा कलश यात्रा सम्पन्न भएको हो ।
