काठमाडौ १ साउन ।
बेलायत भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अभ्यास खेलका क्रममा लगातार तेस्रो जीत हात पारेको छ ।
गएराति सम्पन्न अभ्यास खेलमा नेपालले स्थानीय क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले पराजित गरेको हो । कन्फ्रेन्स क्लबले प्रस्तुत गरेको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान पारस खड्काले ६६ बलमा ६७, अनिल मण्डलले ६४ बलमा ४३, ज्ञानेन्द्र मल्लले ४३ बलमा ३६, शरद भेशवाकरले १९, राजु रिजालले नटआउट १७ तथा राजेश पुलामी मगरले नटआउ १६ रन बनाए ।
कन्फ्रेन्स क्लबका लुके च्याम्पम्यानले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले ७ विकेट गुमाएर २ सय २६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले २–२ तथा पारस खड्का र करण केसीले १–१ विकेट लिए ।
यसअघि बुधबार फ्रि फोरेस्टर क्लबसँग भएको ४० ओभरको खेलमा नेपाल १ सय २९ रनले विजयी भएको थियो भने बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले इन्डियन जिमखानालाई २० रनले हराएको थियो ।
नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेल्ने छ । अब साउन ४ गते नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँग खेल्नेछ ।