धरान,१ साउन ।
सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर कृषिभूमि सिचाइका लागि निर्माण गरिएको सिँचाइ आयोजनाको मूलनहरमा पानी आपूर्ति सहज गराउन चतरामा ब्यारेज बनाउन आबश्यक देखीएको छ ।
केही वर्षअघिदेखि चतरामा वैकल्पिक पहाडी लोकमार्गका लागि पक्की पुल निर्माण गर्दा सप्तकोसी नदीलाई पश्चिमतिर फर्काइदा नदीले आफनो बहाव पश्चिमतिर गहिराउदै लगेपछि नहरको न्यू इन्टेकमा पानी नआउने समस्या सिर्जना भएको छ ।
दुई जिल्ला सुनसरी र मोरङको कृषिभूमि सिँचाइका लागि निर्माण भएको नहरमा पानी आपूर्ति सहज तुल्याउनका लागि सप्तकोसी नदीमा निर्माण भएको पक्की पुलको दक्षिणमा ब्यारेज बनाई पानीलाई पूर्वी किनारतर्फ सोझ्याउनका लागि पनि राष्ट्रिय गौरवको आयोजनाका रुपमा ब्यारेज बनाउन जरुरी देखिएको आयोजनाले बताउँदै आएको छ ।
बारम्बार आफनो बहावको धार परिवर्तन गरि रहने र अधिक बालुवा ओसारेर आउने सप्तकोसी नदीका हालको पश्चिमतिर गहिरिएर गएको क्षेत्रबाट ब्यारेज बाँधेर नदीलाई समतल बनाई आवश्यक पानी नहरतिर सोझ्याउनका लागि ब्यारेज निर्माणभन्दा अर्को कुनै विकल्प बा“की नरहेको आयोजना प्रमुख इन्जिनियर लक्ष्मणप्रसाद सिंहले जानकारी दिनुभएको छ ।
यो वर्ष सुनसरी र मोरङ जिल्लामा समयमा नै पर्याप्त पानी आपूर्तिमा ढिलाइ हुनु र नहरमा सहजरुपमा पानी आपूर्ति नभएका कारण असार मसान्त भइसक्दा पनि धान रोपाई आधा पनि हुन नसक्नुमा नहरमा पानी आपूर्ति नहुनु नै प्रमुख कारण बन्न पुगेको उहा“ले बताउनुभयो ।
हालको पक्की पुलदेखि दक्षिणको भागमा ब्यारेज बनाउने विषयमा जलस्रोत मन्त्रालय पनि सहमत भएको र आयोजनाले निर्माण गर्ने ब्यारेजको सम्भाव्यता अध्ययन पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।