काठमाण्डौ ,३१ असार । प्रमुख दलहरुवीच कार्यसूचीको बिषयमा विवाद भएपछि व्यवस्थापिका–संसदको बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख ओनसरी घर्तीले प्रमुख सचेतकहरुसँग गरेको छलफलमा अविश्वासको प्रस्ताव र विधेयक पेश गर्ने बिषयमा सहमति नभएपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
सभामुखका प्रेस सल्लाहकार बबीन शर्माले कार्यसूचीमा सहमति नभएपछि बैठक स्थगित भएको बताउनुभयो । नेपाली कंग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिएसम्म बजेटसँग सम्वन्धित विधेयक कार्यसूचीमा राख्न नसकिने अडान लिएका छन् भने एमालेले विधेयक पारित भएपछि मात्र अन्य प्रक्रिया अघि बढ्ने बताएको छ ।
अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा संसद बैठकको कार्यसूची बनाउन नियमावलीले ठोस प्रावधानको परिकल्पना नगरेकाले समस्या भएको जनाईएको छ ।
यस्तै माओवादी केन्द्र र प्रतिपक्षी दल काग्रेसले पेश गरेको अविश्वासको प्रस्तावमाथि साउन ६ गते नै छलफल गर्ने गर्ने सचिवालयले जनाएको छ ।
यसैबीच ,संसद बैठक कार्यसूचीमा प्रवेश गराउने विषयमा सभामुख ओनसरी घर्तीले ठुला दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो ।
संसद भवन नयाँ बानेश्वरमा घर्तीले नेपाली कंग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी कंग्रेस र सरकारबाट बाहिरिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएसम्म आर्थिक विधेयक पारित हुन नदिने बताएपछि सभामुखले सहमतिको प्रयास गर्नुभएको हो ।
यसअघि सभामुख घर्तीले अर्थमन्त्री विष्णु पौडेलसँग पनि छलफल गर्नुभएको थियो । छलफलका क्रममा मन्त्री पौडेलले बजेटसँग सम्बन्धित विधेयक यसअघि नै कार्यसूचिमा प्रवेश गरिसकेकाले पारित गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको सभामुखको निजि सचिवालयले जनाएको छ ।
यस्तै मन्त्री पौडेलले माओावादी पनि सरकारबाट बाहिरिने र सभामुखले पनि विधेयक पास गराउन तदारुकता नदेखाउँदा समस्या हुने बताउनुभएको थियो । संसदले विनियोजन विधेयक पारित गरेपनि बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने पारित हुन बाँकी छ ।