सिन्धुपाल्चोक , ३० असार ।
भोटेकोशी नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकमा आज बिहान थप तीन घर बगेका छन् । बाढीले आज थप तीन घर बगाएपछि तातोपानी र लिपीङ आसपासमा हालसम्म ७० घर बगिसकेका छन् ।
बाढी आएको एक सात बित्न लाग्दा समेत नदीले कटान गर्ने क्रम अझै रोकिएको छैन । लगातार जमिन कटान नरोकिनाले बजार ,अरनिको राजमार्गमा थप क्षति पुगेको छ ।
नदीको वहाब नरोकिने हो भने नदी छेउका अन्य घर पनि बग्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिनु भयो ।
भोटेकोशीको बाढी पछि बाह्रविसे माथिका सात गाविसका स्थानीय सडक, सञ्चार र विद्युत सेवाबाट बञ्चित भएका छन् । सडक सञ्चालन नुहंदा यस क्षेत्रका स्थानीय बिरामी हुदा ठुलो समस्या भएको छ ।
बर्षाको सुरुवात भएदेखि नै लार्चादेखि लिपिसम्मका सबै बस्ती पहिरोले गर्दा पूर्णरुपमा जोखिममा छन् । पर्यटकीय सम्पदाहरु तातोपानी, निर्माणाधीन चिनियाँ भन्सार भवनलगायतका प्रशस्तै संरचनाहरुमा अधिकांश भाग काटिसकेको छ ।
नदीले बगाएर ल्याएको ठूला ढुंगाहरु दशकिलो नजिकमा रहेको ड्याममा थुनिएर बाढी आउने जोखिम बढेको छ ।