काठमान्डौ,असार३०।
ताप्लेजुङमको तमोर नदी थुनिएर बनेको ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले बताएको छ ।
सावादिन–१ स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपूर्ण तालको हिजो अवलोकन गर्न गएका अध्ययन टोलीले अवलोकन पश्चात ताल तत्काल नफुट्ने निष्कर्ष निकालेको हो ।
अध्ययनपछि टोलीले नदी किनारका स्थानीयवासीलार्ई नआत्तिन तर सचेत भने रहन आग्रह गरेको छ।
तत्काल ताल नफुट्ने र अहिलेकै अवस्थामा नदीले कटान गरेर बगिरहेमा तमोर नदी किनारका बस्तीमा क्षति पुग्ने सम्भावना नरहेको निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद भट्टराईले बताउनु भयो ।
अध्ययन टोली संयोजक एवं जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम क्षेत्रमा चट्टान आएर बसेकाले तत्कालै ताल फुट्ने खतरा नरहेको बताउनु भयो ।
गत शनिबार बिहान झरेको पहिरोले नदी थुनिएर खतरा बढ्दै गएपछि तीन दिनपछि पुगेको अध्ययन टोलीले सो निष्कर्ष निकालेको हो ।
हाल जमेको पानीबाहेक अब जम्मा हुने अवस्था नरहेको र आएजति पानी निकास हुनसक्ने भएकाले जोखिम नरहेको अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
भौगोलिक विकटताका कारण अध्ययन टोलीले तालको पानीलाई तत्कालै बगाउने अवस्था नरहेको समेत बताएको छ।
यस्तै अध्ययन टोलीले पानी जमेर बनेको तालको लम्बाइ ३५० मि र चौडाइ १२० मि साथै १५ मि गहिराइ रहेको जनाएको छ। तालमा अनुमानित छ लाख ३० हजार घनमिटर पानी जम्मा भएको हुनसक्ने अनुमान छ।