काठमाडौ ,२९ असार ।
नेकपा माओवादी केन्द्रले वर्तमान सरकार अल्पमतमा परेपनि पद त्याग नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।
आफू नेतृत्वको सरकार अल्पमतमा परेपनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने तयारी नगरेपछि माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
संसदीय दलको आज विहान बसेको बैठकले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।
माओवादीले बजेट पारित गर्न भने कुनै अवरोध नगर्ने भएको छ । अविश्वासको प्रस्ताव दर्तापछि बजेट पारित गर्न भने दिने सहमति भएको नेता सापकोटाले बताउनुभयो ।
यद्यपी यसबारे शीर्ष नेताको छलफलपछि आधिकारिक निर्णय आउने उहाँको भनाई छ ।
यसैबीच माओवादी केन्द्रबाट ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । संसदीय दलको निर्णय अनुसार संयुक्त रुपमा राजीनामा दिइएको वन मन्त्री समेत रहेका नेता सापकोटाले बताउनुभयो ।