पेरिस, २७ असार ।
युरोकप २०१६ को उपाधि पोर्चुगलले जितेपछि फ्रान्समा हिंसा भड्किएको छ । फाइनलमा फ्रान्स पराजित भएपछि समर्थकहरुले हिंसा मच्चाएका थिए ।
समर्थकहरुले ‘आइफल टावर’का अधिकारीहरुमाथि सिसाका बोतल तथा मिनरल वाटरका बोतलहरु फालेका थिए ।
सो क्रममा प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । हिंसा नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र टियर ग्यास हानेको थियो ।
पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । पोर्चुगलले जितेपछि सो खेल मैदानमा नै पोर्चुगलका समर्थकहरुको भीड लागेको थियो । ९० हजार अट्ने क्षमता रहेको खेल मैदान भरिएपछि उनीहरुले आइफल टावरतर्फ आक्रमण गर्न थालेका थिए ।
खेल सकिएपछि भने फ्रान्सका समर्थकहरुले खेलप्रति असहमति जनाउँदै सामान्य झडप गर्ने र पेरिसका केही स्थानमा हमला पनि गर्न खोजेका थिए ।
ती प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि विभिन्न वस्तु फाल्न थालेका थिए ।
त्यसक्रममा हिंसा भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

