काठमाडौं,२७ असार ।
संसदीय सुनुवाई बिशेष समितिले आजबाट सर्वोच्च अदालतमा सिफारिस ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।
सिंहदरवारमा आज बिहान बसेको समितिको बैठकले नयायधिसमाथि परेको उजुरी माथि भोली बिहान थप छलफल गर्दै सुनुवाईको मिति तय गर्ने निर्णय गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।
पुनरावेदनबाट दीपक कार्की, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, मिरा खड्का, शारदा घिमिरे, केदार चालिसे र विश्वम्भर श्रेष्ठ सिफारिसमा परेका छन् । त्यस्तै अधिवक्ताहरुबाट हरिकष्ण कार्की, प्रकाश राउत, सपना मल्ल र अनिलकुमार सिन्हाको नाम पनि सिफारिस भएको छ ।
सर्वोच्च अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढेकाले न्यायाधीश सुनुवाईलाई प्राथमिकतामा राखेको ढकालको भनाई छ ।
न्याय परिषद्ले गत फागुन १९ गते पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जना र कानून ब्यवसायीका तर्फबाट ४ जनाको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
यस्तै बैठकले सुनुवाई प्रक्रियाबारे आएका उजुरीबारे अध्ययन गर्न सदस्य आनन्दप्रसाद ढुंगाना संयोजकत्वको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको ढकालले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुत्त, न्यायाधीश र राजदूतबारे गुनासो दिने समयमा सुनुवाई प्रक्रियाबारे समेत सर्वसाधारणले सुझाव दिएपछि थप अध्ययन गर्दै सुझाव दिन सदस्य ढुंगाना नेतृत्वको कार्यदललाई जिम्मा दिईएको हो ।
समिति सदस्य ढकालका अनुसार सुनुवाई प्रक्रियालाई थप परिस्कृत र परिमार्जन गर्दै प्रभावकारी बनाउने तयारी भएको हो । प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाई सकेको समितिले यही महिनाको अन्त्यसम्ममा थप २२ जना राजदूतको पनि सुनुवाई सम्पन्न गर्ने पनि तयारी गरेको हो ।