बाग्लुङ, २५ असार ।
नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले आफ्नो पार्टी बहुमतीय सरकारको पक्षमा नरहेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रले आज बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै बादलले संविधानको कार्यान्वयन, पुनर्निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो ।
‘मुलुकका सामु रहेका मुद्दाहरुको सम्बोधन गर्न राष्ट्रिय सहमति सहितको संयुक्त राष्ट्रिय सरकार आवश्यक छ’ उहाँले भन्नुभयो, । उहाँले राष्ट्रिय सहमति नबन्ने अवस्थामा आफ्नो पार्टी सरकारमा रहिरहनुको औचित्य नहुने र त्यस्तो अवस्थामा सडकमा समेत जान सक्ने बताउनुभयो ।
एमालेसँग भएको नौ बुँदे भद्र सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सहमतिको सरकार बन्ने अवस्था नआए आफ्ना एजेण्डा आन्दोलनद्वारा सम्बोधन गराउन पनि पछि नपर्ने बादलको भनाई छ ।