काठमाडौं,२४ असार ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) अंग्रेजी, गणित र विज्ञान बिषयमा डी प्लस अंक ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना पाउने व्यावस्थाा गरेको छ ।
सीटीईभिटीको राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकल आफ्नो डिप्लोमा कोर्समा भर्ना हुने मापदण्ड परिवर्तन गरेको हो । यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनको लागि अंग्रेजी, गणित र विज्ञान बिषयमा सी चाहिने व्यवस्था थियो ।
एसएलसी पास भएका विद्यार्थीलाई लक्षित गर्दै पाठ्यक्रम बोर्डले भर्ना मापदण्ड परिवर्तन गरेको सदस्य सचिव रामहरि लामिछानेले जानकारी दिनुभयो ।
बैठकले स्वास्थ्य बिषयको डिप्लोमा कोर्सको लागि जीपीए कम्तीमा २, अंग्रेजी, गणित र विज्ञानमा सी चाहिने निर्णय यथावत राखेपनि अन्य बिषयमा पढ्न चाहनेको लागि भने मापदण्ड परिवर्तन गरेको छ ।
ईन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अंग्रेजीमा डी प्लस, विज्ञान र गणितमा सी भए पुग्ने बैठकले निर्णय गरेको छ । यसअघि सबै तीनै बिषयमा कम्तिमा सी ल्याउनुपर्ने प्रावधान थियो ।
कृषि र वनमा डिप्लोमा कोर्स पढ्नका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये २ वटामा सी र एउटामा डी प्लस भएपनि भर्ना पाइने निर्णय पाठ्यक्रम बोर्डले गरेको छ ।
होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता बिषयमा डिप्लोमा कोर्सको लागि अंग्रेजी, गणित र विज्ञान तीनैमा डी प्लस भए पनि भर्ना पाइने निर्णय भएको परिषद्का सदस्य सचिव लामिछानेले बताउनुभयो ।
एसएलसी दिएका धेरैभन्दा धेरै विद्यार्थीलाई समेट्न बोर्ड बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।