काठमान्डौ,असार २४। संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधीप्रसाद यादवको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ।
आज विहान बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले यादवको नाम सर्वसम्मतिबाट पारित गरेको हो। नाम अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न बाटो खुलेको छ। संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
संसदीय समितिको बैठकमा आज नै यादवले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए। गत पुसमा संवैधानिक परिषदले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदका लागि डा. अयोधीप्रसाद यादवको नाम सिफारिस गरेको थियो।
आफ्नो नाम अनुमोदनपछि यादवले २०७४ सालभित्र गर्नुपर्ने स्थानीय तह, प्रदेश र संसदीय चुनावका लागि आयोग तयार रहेको बताउनुभयो ।
आफु निष्पक्ष रुपमा काम गर्न तयार रहेको पनि उहाँले बताउनु भयो । कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाई भने पर्सि आइतबार हुनेछ ।