काठमाडौं ,२३ असार ।
वेल्सको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ । क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो ।
सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो । फ्रान्सको ल्योनस्थित ओलम्पिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा पोर्चुगलले सुरुवातमै २ गोल गर्न सफल भयो ।
५०औं मिनेटमा राफायल गुएरेइरोको कर्नर प्रहारलाई सदुपयाग गर्दै सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पेनाल्टी एरियाबाट हेडमार्फत सुरुवाती गोल गरे ।
५३औं मिनेटमा भएको दोस्रो गोलमा पनि रोनाल्डोकै योगदार रहृयो र उनैको पासमा स्टार मिडफिल्डर नानीले सहजै बललाई जाली चुमाउन सफल भए ।
प्रतियोगितामा दुई पहेँलो कार्ड पाएर पोर्चुगलबिरुद्धको खेल गुमाएका आरोन राम्सेको अनुपस्थितिमा वेल्सको मिडफिल्ड कमजोर देखिएको थियो । उनको स्थानमा खेलेका एण्डी किङ र अर्का स्टार मिडफिल्डर जोय लेड्लीले पनि कुनै जादू देखाउन सकेनन् ।
टोटनहृयामका डिफेण्डर बेल डेभिसपनि दुई पहेँलोको प्रतिबन्धमा परेकाले वेल्सको रक्षापंक्तिपनि केहि धर्मराएको थियो । उनको स्थानमा आएका जेम्स केलिन्सले अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन् ।
पोर्चुगलले आज हुने जर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।
आज अन्तिम सेमिफाईनलमा जर्मनी र फ्रान्सबीच राति पौने एक बजे प्रतिस्पर्धा हुनेछ ।