काठमाडौं,असार२०।
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि खुलेको छ ।
म्याग्दीको तितरमा, काभ्रेको घोप्टे भिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको बाढीले अवरुद्ध सडक मर्मतपछि आज बिहानदेखि सञ्चालन भएको हो ।
सडक डिभिजन कार्यालय, प्रहरी, यातायात व्यवसायी र स्थानीयवासीको पहलमा पहिरो हटाउने तथा मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडक सञ्चालनमा आएको दाना प्रहरी चौकीले जनाएको छ ।
सडक मर्मतपछि बेनीदेखि जोमसोमसम्म सिधा यात्रा गर्न सकिने र रोकिएका सवारी साधन गन्तव्य तर्फ जान थालेको दाना प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले बताउनु भयो ।
निरन्तरको झरीसँगै खसेको पहिरोका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक, मुक्तिनाथ जाने आउने तीर्थयात्री र स्थानीय बासिन्दा समस्यामा परेका थिए ।