काठमाण्डौ, १९ असार ।
राहदानी वितरणमा आजदेखि नयाँ सेवा सुरु भएको छ । द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले दश मिनेटमै राहदानी प्राप्त गर्नेछन् ।
परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआत गरेको हो । सेवा सुरु गरेको पहिलो दिन आज दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरेकी छन् । नयाँ पद्धतिको प्रारम्भ गर्दै उपप्रधानमन्त्री कमल थापाले सुश्री बुढाथोकीलाई राहदानी प्रदान गर्नुभयो ।
६ वर्षअघि एमआरपी निर्माण एवम् वितरण थालिएको सन्दर्भमा आजदेखि सुरु भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुङ्गा भएको बताउनुभयो ।
परराष्ट्रमन्त्री थापाले केन्द्रमा मात्र नभई जिल्लामा पनि द्रुतसेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेकोमा जोड दिनुभयो ।
सरकारको गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा १५ हजार दस्तुर बुझाउनुपर्नेछ । त्यसैगरी रु १२ हजार शुल्क बुझाए दुई दिन र रु १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ ।
विभागका अनुसार पाँचदेखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन् । जिल्लाबाट फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ ।
यसअघि विभागले रु १० हजार दस्तुर लिएर एक सातामा नै राहदानी उपलब्ध गराउँदै आएको थियो ।