गोरखा,असार १६।
गाउँमाथिको डाँडाबाट पहिरो खस्ने क्रम नरोकिए पछि उत्तरी गोरखाको केरौँजा–१ का १ सय १३ वटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् ।
गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पु¥याएपछि गाँउलेहरुले एकसाथ टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन् ।
सरकारबाट उचित राहत तथा पुनस्थापनाको काम प्रभावकारी हुन नसक्दा उनीहरु जंगलको खाली चौरमा बस्न बाध्य भएका छन् । गत वर्षको असार ११ र भदौ ५ मा गएको पहिरोले केरौंजा–४ को पूरै बस्ती बगाएको थियो ।
सोही गाविसको वडा नं १ को खाली जग्गामा टहरो बनाएर गाउँबाट विस्थापित भएका १ सय ३७ घरधुरीका गाउँले बस्दै आएका थिए ।
पहिरोले टहरोमा क्षति पुर्याए पछि गाउलेहरु सुरक्षित बसोबासको खोजी गर्दै जङगल पुगेका हुन ।
हिजो झरेको पहिरोले केरौँजा स्थित नेपाली सेनाले हालै निर्माण गरेको अस्थायी सामूहिक आवासमा पनि क्षति पुगेको छ ।
पहिरोले केरौँजा, उहियाका साथै लापु, मान्वु, काशीगाउँ लगायत उत्तरी भेगका विभिन्न गाविसमा रहेका भूकम्पपीडितका टहरामा पनि क्षति पु¥याएको छ ।
पहिरोले क्षति पु¥याएको केरौँजा र उहिया गाविसको खोर्लाबेसीको स्थलगत अवलोकन गरेर सदरमुकाम फर्किनुभएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पहिरोको उच्च जोखिममा रहेका गाउँ सुरक्षित स्थानमा सार्नुपर्ने बताउनुभयो ।
भूकम्पले घरमा क्षति र पहिरोले जमिन बगाएपछि केरौाजावासी अहिले सुरक्षित आवासको खोजीमा छन् ।