काठमाडौं, १३ असार ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग पूरा नभएसम्म संसद्को अबरोध जारी राख्ने निर्णय गरेको छ ।
संसद् भवन नयाँबानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले आफूहरुसँग कुनै छलफल नगरेको र आफूहरुका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।
बैठकमा अधिकांश कांग्रेस सांसदहरुले सरकारको चर्को आलोचना गर्दै सरकारले भूकम्प प्रभावितहरुलाई एकमुष्ठ रुपमा दुई लाख रुपैयाँ वितरण गर्ने प्रतिबद्धता नजनाएसम्म संसदमा अवरोध गर्नुपर्ने बताएका थिए ।
सांसदहरुले सरकारले भूकम्प प्रभावितहरुलाई राजनीतिक आस्थाका आधारमा विभेद गरेको, पुनर्निर्माण प्राधिकरणले एमाले निकट एनजीओमार्फत् पुननिर्माणको जिम्मा दिएको भन्दै आपत्ति जनाएका थिए ।
प्रमुख विपक्षी कांग्रेसले भूकम्प प्रभावितलाई एकमुण्ठ दुई लाख रुपैयाँ दिनुपर्नेलगायतका माग राख्दै गत शुक्रबारदेखि निरन्तर व्यवस्थापिका संसद्को बैठक अबरुद्ध गर्दै आएको छ ।