काठमाण्डौ , १२ असार ।
व्यवस्थापिका संसदको बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै प्रतिपक्षी कांग्रेसले पटक पटक संसद बैठक अवरुद्ध पारेपछि कार्यसुचीमा प्रवेश गर्न सकेन ।
आजको बैठकमा बिभिन्न सात मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसुची रहेको थियो । कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाउनु भएन । यसअघि शुक्रबार पनि कांग्रेसले बैठक अवरुद्ध पारेपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने कार्यक्रम रोकिएको थियो ।
भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्निर्माणमा सरकारले ढिलासुस्ती गरेको एवम् पीडितको तथ्यांक संकलनमा राजनीतिकरण गरेको भन्दै कांग्रेसले सरकारको जवाफ मागेको छ ।
आजको बैठकको शुरुमै बोल्दै कंग्रेस सांसद अर्जुन नरसिंह केसीले जनजीविकाको सवालमा सरकार गम्भिर नदेखिएको बताउनुभयो ।
अर्का सांसद मोहन बस्नेतले भूकम्प पीडितहरुका सम्बन्धमा आफ्नो पार्टीले उठाएको बिषयमा ठोस प्रतिवद्धता नआएसम्म संसद चल्न नदिने बताउनुभयो ।
संसद भवनमा पत्रकारसँग कंग्रेस नेता विमलेन्द्र नीधीले प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गर्नुअघि कांग्रेसस‘ग वार्ता नगरेकाले अवरोध गरेको बताउनुभयो ।
कानुनमन्त्री अग्नी खरेलले भने जनजिविकाको विषयमा नै असर पर्ने गरी प्रतिपक्षीले सदन अवरुद्ध गर्न नहुने बताउनुभयो । कांग्रेसले आज एकै दिन तेस्रो पटक बैठक अवरुद्ध पारेपछि सभामुख ओनसरी घर्तिमगरले भोली सम्मका लागि स्थगित गर्नुभएको हो ।