काठमाण्डौ ,११ असार ।
सिन्धुलीको बेलघारी गाविस छरछरेकी पन्ध्र वर्षीय एक बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका युवराज लुइँटेललाई अहिले जिल्ला कारागार सिन्धुलीमा राखिएको छ ।
आफ्नै घरमा घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कमलामाई नगरपालिका–१२, बथानचौडीका ६३ वर्षीय लुईटेललाई थप अनुसन्धान गर्न पुर्पक्षको लागि प्रहरीले जिल्ला कारागार पठाएको हो ।
विपन्न परिवारकी ती बालिकालाई २०७१ चैत्रदेखि घरेलु कामदारका रुपमा राखेका लईटेलले डर धम्की देखाएर बलात्कार गरेको र गर्भ बसेपछि जबरजस्ती गर्भपतन गर्न लगाएको पिडितले बताएकी छिन् ।
कसैलाई भने मारिदिने धम्की दिएपछि आफुले घटना बाहिर ल्याउन नसकेको उनले बताईन ।
लुईटेलले घटना बाहिर आउने डरले बालीकालाई विष खुवाएर हत्या गर्ने प्रयास गरेपछि मात्रै घटना बाहिर आएको हो । विष खुवाउँदा बालिकाले चिच्याएर हारगुहार मागेपछि अरुले थाहा पाएर परिवारलाई खबर गरेका थिए ।
घटनापछि बालिकामा बेहोस हुन, बर्बराउने र एकोहोरो हुने जस्ता समस्या समेत देखिएको छ ।
घटना सार्वजनिक भएपछि महिला मानवअधिकार रक्षक सञ्जाल, सिन्धुलीको सहयोगमा पिडितले लुईटेलका बिरुद्ध किटानी जाहेरी दिएका थिए ।
लगत्तै लुईटेललाई सिन्धुली प्रहरीले पक्राउ गरि अदालतमा मुद्धा दायर गरेको छ । अहिले लुईटेलमा बिरुद्ध सिन्धुली जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । तर पिडक पक्षले राजनितिक आडमा पिडितलाई पैसाको लोभमा घटनाको मिलापत्र गराउने प्रयास गरिरहेको बताईएको छ ।
आरोपित लुईटेल पक्षले यसअघि घटना सार्वजनिक नगर्न स्थानीय शिक्षकहरूमार्फत् ३० हजार क्षतिपूर्ति दिने भन्दै ५ हजार अग्रिम दिएर घटनालाई लुकाउन खोजेका थिए ।
घटना सार्वजनिक भएलगत्तै सन्जाल र प्रहरीको सक्रियतामा बालिकाको जिल्ला अस्पताल, सिन्धुलीमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनको पाठेघरमा गम्भीर समस्या आएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
अदालतमा मुद्धा चलिरहेको अबस्थामा राजनितिक आडमा पिडित परिवारलाई डर ,धम्की सहित प्रलोभनमा पारेर मुद्धा फिर्ता गराउन खोजिएको भन्दै मानवअधिकारवादी सङ्घसंस्थाहरूले पिडकलाई प्र्रचलित कानुन अनुसार कडाभन्दा कडा कारबाही गर्न संम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।