एजेन्सी,असार ८
फान्समा जारी युरो कप फुटवल अन्तरगत गए राति नै सम्पन्न समूह डीका खेलहरुमा टर्की र क्रोएसिया विजयी भएका छन् । खेलमा क्रोएसियाले स्पेनलाई २ –१ गोल अन्तरले पराजित गर्दै समूह डीको विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ।
गएरातिको जितसँगै क्रोएसिया ७ अंकका साथ समूह डीको विजेता बनेको छ । खेलको सातौं मिनेटमा नै स्पेनका मोराटाले गोल गर्दै खेलमा अग्रता लिएको थियो।
पहिलो हाफको अन्तिम मिनेटमा क्रोएसियाका कलिनिकले बराबरीमा गोल फर्काउँदै उत्कृष्ट पुनरागमन देखाए। खेलको ७२ औं मिनेटमा पाएको पेनाल्टी मिस गर्दा स्पेनले अग्रता लिने मौका गुमायो। यसपछि ८७ औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए।
स्पेन ६ अंकसहित समूहको उपविजेता बनेर दोस्रो चरणमा इटालीसँग प्रतिश्पर्धा गर्नेछ। यता विजेता बनेको क्रोएसियाको प्रतिद्वन्दी टुंगो लागेको छैन।
यस्तै गए राति नै सम्पन्न अर्काे खेलमा टर्कीले चेक रिपब्लीकलाई २–० ले हराउदै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।
लेन्समा भएको खेलमा टर्कीलाई जिताउन १० औं मिनेटमा बुराकी डिल्माज र ६५ औं मिनेटमा ओजान टुफानले एक एक गोल गरे ।
जितले समूह डीको तेस्रो स्थानमा रहेको टर्कीको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो । यसको निर्णय आज राति हुने खेल पछि हुनेछ ।
चेक रिपब्लिक भने समूह चरणबाटै बाहिरियो ।