एजेन्सी,असार ७ ।
फ्रान्समा जारी युरोकप फुटवल प्रतियोगिता अन्तरगत आज राति पनि ४ खेल हुदै छन् । समुह सि का अन्तिम लिग खेलहरुमा नर्दन आयरल्याण्ड र जर्मनी तथा युक्रेन र पोल्याण्ड वीचको खेल राति पौने १० बजे हुनेछ ।
समुह डि का खेलहरुमा क्रोएशिया र स्पेन तथा चेक रिपब्लीक र टर्की राती पौने १ वजे भिड्नेछन् । यस्तै गए राति सम्पन्न भएको खेलमा इंग्ल्याण्ड र वेल्स प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।
समुह बी को अन्तिम लिग खेलमा रुसलाई ३–० को गोल अन्तरले हराउँदै वेल्सले प्रि क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । खेलमा वेल्सलाई विजयी गराउन आयरन राम्से, निल टेलर र ग्यारेथ बेलले एक एक गोल गरे ।
यो जितसँगै वेल्सलाई तीन खेलबाट ७ अंकको साथ समुह बी को विजेता बनायो भने १ अंक मात्रै जोडेको रुस समुह चरणबाटै बाहिरियो ।
यही समुह अन्तरगतको गएराति नै सम्पन्न अर्को खेलमा इंग्लण्ड र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि तीन खेलबाट ५ अंक जोडेको इंग्लण्ड समुह उपविजेता बन्यो भने ४ अंक जोडेको स्लोभाकिया तेस्रो स्थानमा थियो ।
दोस्रो स्थान ओगटेको इंग्लण्ड प्रि क्वाटरफाईनलमा छनौट हुँदा तेस्रो स्थानको स्लोभाकियाले अरु समूहको नतिजा पर्खनुपर्ने भएको छ ।