काठमाडौँ, ५ असार ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री लेबनानको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।प्रधानसेनापति सँगै रक्षा सचिव महेशप्रसाद दाहाल पनि रहने जनाइएको छ ।
विश्व शान्ति स्थापनार्थमा त्यहाँ खटिएको नेपाली सेनाको युनिटको निरीक्षण भ्रमणका लागि उहाँ त्यसतर्फ जान लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सर्वप्रथम १९५८ मा नेपाली सेना लेबनानमा शान्ति स्थापनाको निम्ति खटिइएको थियो । अहिले लेबनानमा नेपाली सेनाका २० जना स्टाफ अधिकृतसहित ८ सय ६९ जना शान्ति सैनिक परिचालित छन् ।
लेबनानमा नेपाली सेनाले लामोसमयदेखि शान्ति स्थापना कार्यमा पु¥याउँदै आएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसा हुँदै आएको छ ।
प्रधानसेनापति क्षत्री साताव्यापी भ्रमण पूरा गरेर यही असार १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।