एजेन्सी, असार २ ।
फ्रान्समा जारी युरो कप फुटबल प्रतियोगितामा इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड विजयी भएका छन् । जर्मनी र पोल्याण्ड गोल रहित बराबरिमा रोकिएका छन् ।
समूह सी अन्तरगत गए राति भएको खेलमा युक्रेनलाई नर्दन आयरल्याण्डले २–० ले हराएको हो ।
नर्दन आयरल्याण्डका ग्यारेथ म्याकुलेले खेलको ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा नाइल म्यागिनले गोल गर्दै २–० को जित दिलाए । नर्दन आइरल्याण्डकोे युरोपियन च्याम्पियन सिपमै यो पहिलो जित हो ।
युरो कपमा पहिलो जितसँगै नर्दन आयरल्याण्डले ३ अंक जोडेर अन्तिम १६ मा पर्ने सम्भावना कायम राखेको छ ।
यस्तै गए राति नै सम्पन्न अर्काे खेलमा इंग्ल्याण्ड विजयी भएको छ । दोश्रो खेलमा इंग्ल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको ४२ औ मिनेटमा वेल्सका ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि हार टार्न भने सकेन । खेलको ५६ औ मिनेट मै इंग्ल्याण्डका जेमी भर्डीले गोल गर्दै १ –१ को बराबरीमा ल्याए ।
खेलको इन्जुरी समयमा डेनियल स्टुरेजले गोल गर्दै इंग्ल्याण्डले २–१ गोल अन्तरको जीत निकाल्यो । यस सँगै इंग्ल्याण्डले युरो कपको नक आउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ ।
यस्तै गए राति नै भएको अर्को खेलमा जर्मनी र पोल्याण्ड गोल रहित बराबरिमा रोकिएका छन् ।
फ्रान्सको सेन्ट डेनिसमा भएको समूह सी अन्तरगतको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । बराबरीसँगै समूह सी मा रहेका यी दुवै टीमको समान चार अंक भएको छ ।