रमेश हतुवाली/काठमाडौं, ३२ जेठ।
उपप्रधानमन्त्री सि.पी. मैनालीले काँग्रेसको मनस्थितीमा परिवर्तन नआए सम्म राष्ट्रिय सरकार नबन्ने ठोकुवा गर्नुभएको छ ।
नेकपा मालेको पार्टी कार्यालय रातोपुलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री मैनालीले सो विचार व्यक्त गर्नुभएको हो । मुलुकमा संविधान कार्यान्वय महत्वपूर्ण चुनौती रहेको भन्दै उपप्रधानमन्त्री मैनालीले संघीय मोर्चाको आन्दोलनलाई वार्ताको माध्यमबाट मात्र सम्बोधन गर्न सकिने बताउनु भयो ।
संघीय प्रदेशको खाका बारे संविधानमा समेत स्पष्ट व्यवस्था नभएको भन्दै उपप्रधानमन्त्री मैनालीले हाल विद्यमान पाँच विकास क्षेत्रलाई आधार मानेर संघीय प्रदेशको घोषणा गर्नु सान्दर्भिक हुने प्रष्ट पार्नुभयो ।
नेपालका हरेक नागरिक आदिवासी भएको भन्दै उपप्रधानमन्त्री मैनालीले अहंकार र संक्रिर्णताको भावना त्यागे मात्र मुलुकले गति लिने बताउनु भयो ।